स्थानीय चुनावको अन्तर्घात छानबिन गर्न एमालेले बनायो कार्यदल

स्थानीय तहको चुनावमा भएको अन्तर्घात छानबिन गर्न नेकपा (एमाले)ले कार्यदल गठन गरेको छ।
आइतबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा अन्तर्घातको सम्बन्धमा परेका उजुरी छानबिन र कारबाही सिफारिश गर्न तीन सदस्यीय कार्यदल गठन गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।
“पार्टीभित्र जुन किसिमको अनुशासनहीनता, अराजकता देखियो त्यसले परिणाम अपेक्षा अनुसार हुन दिएन,” सुब्बाले भने, “निर्वाचनका क्रममा केही अनुशासनहीनता, अराजकताका कुराहरू उत्पन्न भएका छन्। त्यस्ता समस्यामाथि उजुरी परेका छन्। उजुरीमाथि छानबिन र आवश्यक कारबाही गर्न कमरेड विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरिएको छ।”
कार्यदलको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभागका प्रमुख खगराज अधिकारी सदस्य छन्। पौडेल नेतृत्वको कार्यदलले उजुरीमाथि छानबिन गर्नेछ। त्यससँगै कार्यदलले कारबाहीका लागि सिफारिश गर्ने सुब्बाले बताए।
यससँगै एमाले सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको समीक्षा पठाउन पनि मातहतका निकायलाई निर्देशन दिएको छ। जिल्ला र प्रदेश कमिटीलाई असारभित्र समीक्षा गरेर पठाउन भनेको छ।