दाहालको प्रतिवेदन- कांग्रेस गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन (पूर्ण पाठ)

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय चुनावी गठबन्धनप्रति नेपाली कांग्रेसको पूरै पङ्क्ति इमानदार र गम्भीर नपाइएको बताएका छन्।
माओवादीको आइतबारदेखि काठमाडौंमा शुरू भएको तेस्रो केन्द्रीय समिति बैठकमा ‘सङ्क्षिप्त राजनीतिक प्रतिवेदन’ पेश गर्दै अध्यक्ष दाहालले स्थानीय चुनावमा कांग्रेस गठबन्धनप्रति इमानदार नभएको आरोप लगाएका हुन्। १० पृष्ठ लामो प्रतिवेदनको ‘गठबन्धनको समीक्षा र शिक्षा’ सम्बन्धी बुँदामा दाहालले भनेका छन्, ‘सरकारमा सहभागी दलहरूबीचको चुनावी गठबन्धनबारे नेतृत्व तहमा जुन स्तरको समझदारी र आवश्यकताको महसूस थियो, त्यही स्तरको समझदारी स्थानीय तहमा कायम हुन सकेन। खास गरी नेपाली कांग्रेसको पूरै पङ्क्ति गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन।’
कांग्रेसले कतिपय जिल्लामा एमालेसँग मिलेर माओवादीलाई कमजोर पार्न खोजेको दाहालले उल्लेख गरेका छन्। ‘नेपाली कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलहरूको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरू बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेस नेताहरूबाटै बागी उम्मेदवार खडा गर्ने जस्तो अघोषित नीति अपनाएको देखिन्छ,’ दाहालको प्रतिवेदनमा भनिएको छ।
यससँगै कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने गरेको पाइएको जनाइएको छ। ‘रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्ला र ती बाहेकका पनि हाम्रो पार्टीको बलियो उपस्थिति रहेका कैयौं स्थानीय तहमा हामी विरुद्ध एमाले र अन्य दलहरूसँग गठबन्धन गरी हामीलाई पराजित गर्ने वा कमजोर पार्ने घटनाहरू व्यापक रूपमा देखिए,’ प्रतिवेदनमा भनिएको छ, ‘कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्नो उम्मेदवारलाई सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा दिंदा अत्यधिक मत बदर भएको पाइयो।’
नेकपा (एकीकृत समाजवादी)ले आफ्नो वास्तविक स्थितिभन्दा बढी दाबी गर्दा सीट बाँडफाँडमा समस्या भएको दाहालको आरोप छ। जनता समाजवादी पार्टी (जसपा)ले आधार बलियो भएका तराई–मधेशका स्थानमा गठबन्धन गर्न नखोजेको प्रतिवेदनमा उल्लेख छ। आफ्नो पार्टी भने गठबन्धनप्रति इमानदार रहेको दाहालले प्रतिवेदनमा उल्लेख गरेका छन्।
स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी संघ र प्रदेशको निर्वाचनको तयारीमा जुट्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिएका छन्। उनले अब गठबन्धनको भर पर्न नहुने जिकिर गरेका छन्।
उनले आगामी चुनावका लागि तयारी गर्नुपर्नेमा जोड दिएका छन्। ‘आगामी दिनमा पहिलो, आफ्नो शक्ति र संगठनमा भर परेर निर्वाचनको तयारी गर्ने, दोस्रो गठबन्धन हुँदा वा नहुँदा पनि उम्मेदवार बन्न तयार हुने,’ प्रतिवेदनमा भनिएको छ।
अध्यक्ष दाहालले स्थानीय निर्वाचनको शिक्षालाई गम्भीर रूपमा आत्मसात् गर्नुपर्ने बताएका छन्। आगामी निर्वाचनमा पुनः माओवादी शक्तिशाली बन्ने उनको विश्वास छ। दाहालले भनेका छन्, ‘माओवादी पार्टी पुनः शक्तिशाली बन्ने स्पष्ट सङ्केत देखिएको छ।’









