रञ्जु दर्शनाले रोजिन् उज्ज्वल थापाको क्षेत्र

आगामी प्रतिनिधि सभाको चुनावमा युवा नेत्री रञ्जु दर्शना काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेदवार बन्ने भएकी छन्।
दर्शनाले सामाजिक सञ्जाल मार्फत उम्मेदवार बन्ने घोषणा गरेकी छन्। उनले भनेकी छन्, “तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नुभएको छ। आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरू समक्ष बाँड्न पाउँदा हर्षित छु।”
२०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट विवेकशील नेपाली दलका संस्थापक उज्ज्वल थापा उम्मेदवार बनेका थिए। गत वर्ष कोरोनाभाइरसको सङ्क्रमणबाट उनको निधन भएको छ। थापासँगै विवेकशील आन्दोलनमा सक्रिय दर्शनाले सोही क्षेत्र रोजेकी छन्।
त्यति वेला नेकपा (माओवादी केन्द्र) सँगको तालमेलमा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पोखरेलले २३ हजार २९, नेपाली कांग्रेसका प्रकाशशरण महतले १३ हजार १६९ र विवेकशीलका थापाले ६ हजार ८५३ मत पाएका थिए।
दर्शना भने २०७४ सालको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन्। उनले २३ हजार ४३९ मत पाएकी थिइन्।
यो क्षेत्रमा काठमाडौं महानगरका चार वटा वडा पर्छन्। जसमा वडा नंं २,३,४ र ५ छन्। त्यस्तै, यो क्षेत्रमा बूढानीलकण्ठ नगरपालिकाका वडा नंं ३,४,५,६ र ७ तथा टोखा नगरपालिकाका वडा नंं. २,३,४,५,६ र ७ रहेका छन्।