एमालेको बहिष्कारबीच राष्ट्रिय सभाबाट बजेटसँग सम्बन्धित विधेयक पारित
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को बहिष्कारका बीच राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन विधेयक पारित भएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरिएको हो।
राष्ट्रिय सभाबाट पारित भएको उक्त विधेयक सन्देश सहित प्रतिनिधि सभाबाट पठाइएको छ। राष्ट्रिय सभाले सन्देश सहित पठाएको विधेयक प्रतिनिधि सभाले पारित गर्नुपर्ने हुन्छ।
प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिनअघि अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको आरोप लगाउँदै आजको बैठक बहिष्कार गरेका थिए।
एमाले सांसदहरू कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिएका थिए।