उपेन्द्रले बोलाएको बैठकको बाबुराम पक्षद्वारा विरोध
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएकोमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले विरोध जनाएको छ।
अध्यक्ष यादवले एकलौटी रूपमा पार्टीको विधि र प्रक्रिया मिचेर अगाडि बढ्न खोजेको बाबुराम पक्षको आरोप छ। बाबुराम पक्षका नेता एवं जसपा केन्द्रीय सदस्य प्रशान्त सिंहले अध्यक्ष यादवले पार्टीलाई मुठभेडतिर लग्न खोजेको बताए।
“केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउनुअघि तीन जना नेताको मुख्यालयको बैठक बस्नुपर्ने हो। त्यसपछि कार्यकारिणी समितिको बैठकको अजेन्डा तय गरेर जानुपर्ने हो,” नेता सिंहले भने, “अहिले एकाएक पार्टी विधि र पद्धति मिचेर बैठक बोलाइएको छ। यसमा हाम्रो सहमति छैन।”
अध्यक्ष यादवले असार २७ र २८ गते वीरगञ्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन्। यस बैठकले पार्टी विभाजनका विषयमा निर्णय गर्ने जनाइएको छ।
अध्यक्ष यादव पक्षले बाबुराम पक्ष पार्टीबाट अलग हुन खोजेको आरोप लगाएको छ। यसमा दुवै नेताबीच सहमतिमा अलग हुने विषयमा कुराकानी भएको समेत जनाएको छ।
बाबुराम पक्षका नेता सिंहले भने गलत ढङ्गले कुरा बाहिर ल्याइएको आरोप लगाए। “दुवै नेताबीच भएको छलफलमा पार्टी विभाजनको विषयमा कुनै कुराकानी भएको छैन। उपेन्द्र यादवले अतिरञ्जित तरीकाले कुरा बाहिर ल्याएका छन्,” सिंहले भने।
दुई नेताबीच तीन वटा विषयमा कुराकानी भएको उनको भनाइ छ। “बाबुराम भट्टराईले उपेन्द्र यादवसँग मुख्य रूपमा तीन वटा विषय जसपा मुख्यालयको बैठक बोलाउने, पार्टीमा देखिएको समस्याको निकास खोज्नुपर्ने, वैचारिक संघर्षलाई व्यक्तिगत रूपमा लिन नहुने र कुनै पनि हिसाबमा एक–अर्कामाथि व्यक्तिगत प्रहार नगर्न भन्ने हुन्,” नेता सिंहले भने।
जसपा अध्यक्ष यादवले गुटगत राजनीति गरेको बाबुराम पक्षका नेताहरूको आरोप छ। “उपेन्द्रजी पार्टीका अध्यक्ष हुनुहुन्छ, उहाँ जस्तो नेताले गुटगत राजनीति गर्नु भएन,” नेता सिंहले भने, “दुर्भाग्य, उहाँले पार्टीलाई विभाजनको अवस्थामा पुर्याउन खोज्नुभएको छ।”