देशभर वर्षा‚ यी जिल्लामा बाढीको उच्च जोखिम
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षा हुने जनाएको छ।
मनसुनी वायुको प्रभाव देशभर रहेकाले बुधबार बिहान सातवटै प्रदेशको अधिकांश स्थानमा वर्षाको भइरहेको छ। दिउँसो देशभर मौसम बदली रही प्रदेश १, मधेश, बागमती, गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति पनि सातै प्रदेशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ। प्रदेश १ र कर्णाली प्रदेश बाहेकका प्रदेशका केही स्थानमा भीषण वर्षा हुन मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।
यी जिल्लामा बढीको जोखिम
विभिन्न जिल्लामा लगातार वर्षा भइरहेकाले त्यस क्षेत्रको नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिम रहेको क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
रौतहट‚ बारा, महोत्तरी, सर्लाही, काठमाडौं‚ कास्की, स्याङ्जा, कपिलवस्तु, रुपन्देही, नवलपरासी, प्यूठान र दाङमा लगातार वर्षा भइरहेको छ। यस्तै‚ पाल्पा, अर्घाखाँची, बाँके, रुकुम, जाजरकोट, सुर्खेत‚ कैलाली र कञ्चनपुरमा पनि लगातार वर्षा भइरहेकाले नदी र खोला तटीय तथा डुबान क्षेत्र र पहिरोको जोखिम रहेको ठाउँमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।