एसपीपीलाई लेखिएको पत्रमा टिपेक्स लगाइएको छ‚ सरकारले सक्कली पत्र सार्वजनिक गरोस्: ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुन अगाडि नै अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सहभागी हुन तत्कालीन प्रधानसेनापतिले पत्र लेखेको दाबी गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित मदन भण्डारी जन्मजयन्ती समारोहमा ओलीले अहिले सार्वजनिक गरिएको पत्रमा मिति केरमेट गरिएको दाबी गर्दै यसबारे सत्यतथ्य बोल्न अमेरिकी दूतावासलाई आग्रह गरेका छन्। उनले भने‚ “यो पत्र म प्रधानमन्त्री नहुँदै एम्बेसीमा लेखिएको हो। योबारे अमेरिकी एम्बेसीले सत्य बोलोस्।”
ओलीले सरकारसँग सक्कल पत्र सार्वजनिक गर्न समेत आग्रह गरेका छन्। यसबारे तत्कालीन प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीलाई सोध्नुपर्ने उनको भनाइ छ। “सरकारलाई अहिले पनि भन्छु, ओरिजिनल पत्र देखाओस्‚” उनले भने‚ “म प्रधानमन्त्री हुनुभन्दा अगाडिको पत्र हुन सक्छ‚ चलानी नम्बरमा हातले ८५ पनि लेखेको छ। पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ। सबै टाइप गरेको छ। त्यो पछि किन हातले लेख्नुपर्यो। त्यहाँ टिपेक्स लगाएर हातले लेखिएको स्पष्ट हुन्छ।”
ओलीले पत्र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा नै लेखिएको दाबी गरेका छन्। “२०७२ साल असोज ३ गते संविधान जारी भयो‚” उनले भने‚ “सुशील कोइराला प्रधानमन्त्री र रक्षामन्त्री पनि हुनुहुन्थ्यो‚ उहाँले रक्षामन्त्रीको हैसियतले एसपीपीको अङ्ग बन्न नेपाल तयार छ, इच्छुक छ भन्ने निर्णय गर्नुभयो, मन्त्रीस्तरीय निर्णय। त्यो निर्णय अनुसार असोज १३ गते नेपाली सेनालाई यस सम्बन्धमा पत्र लेख्यो।”