केही मन्त्रीले राजीनामा दिएका छन्, गोजीमा लिएर हिंडिरहेको छु: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीले राजीनामा दिएको बताएका छन्।
अखिल नेपाल महिला संघ (समाजवादी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीले राजीनामा दिएको बताएका हुन्। “केही मन्त्रीहरूले राजीनामा पत्र मलाई दिनुभएको छ,” नेपालले भने, “त्यो म गोजीमा लिएर हिंडिरहेको छु।”
पार्टी मार्फत नै राजीनामा पत्र सार्वजनिक गर्न मन्त्रीहरूले आग्रह गरेको उनको भनाइ छ। अब अन्य बाँकी मन्त्रीले पनि राजीनामा दिने उनले बताए। “कुनै वेला त्यो राजीनामा पत्र बाहिर प्रेसमा पठाएर त्यसलाई म सार्वजनिक पनि गर्नेछु,” नेपालले भने, “अरू मन्त्रीहरूले पनि त्यस्तै ढङ्गले राजीनामा पत्र पठाउनुहुनेछ।”
एकीकृत समाजवादीबाट सरकारमा चार जना मन्त्री र एक जना राज्यमन्त्री सहभागी छन्। उनीहरूमध्ये चार जनालाई फिर्ता बोलाउने एकीकृत समाजवादीले निर्णय गरिसकेको छ।
तर, केही मन्त्री र सांसदले त्यसमा असहमति जनाएर असार ९ गते अध्यक्ष नेपाललाई पत्र पठाएका थिए। त्यसमा हस्ताक्षर गरेका ६ सांसदले भने शनिबार हस्ताक्षर फिर्ता लिएको जनाएका थिए।
अब प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने नेपालको भनाइ थियो। एकीकृत समाजवादीले पठाएको पत्रका आधारमा मन्त्री फेरबदल हुनुपर्नेमा उनको जोड थियो।