केही ठाउँमा भीषण वर्षाको सम्भावना‚ लुम्ले र जुमलेटीमा सतर्कता अपनाउन आग्रह
मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा वर्षा हुने र केही प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ।
आइतबार बिहान देशभर मौसम बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कास्कीको लुम्ले र जुमलेटीमा पछिल्लो ६ घण्टा अति भीषण वर्षा भएकाले त्यस क्षेत्रमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने महाशाखाको अनुमान छ।
यस्तै‚ दिउँसो र राति पनि देशभर मौसम बदली भई पहाडी भूभागका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १‚ गण्डकी, लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।