एमालेमै बसेका १० नेतालाई ‘दास’ को संज्ञा दिंदै नेपालले भने- हामीलाई धारेहात नलगाऊ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छोडेर नेकपा (एमाले)मै बसेका १० नेतालाई दासको संज्ञा दिएका छन्।
एमाले विभाजन हुनअघि भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगायत १० नेता नेपालको पक्षमा थिए। तर, नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएपछि उनीहरू एमालेमै बसेका थिए।
अहिले एकीकृत समाजवादीले मन्त्री फेरबदल गर्ने निर्णय गरेपछि केही सांसदले असहमति जनाएका छन्। त्यसलाई लिएर एमालेमै बसेका १० नेतामध्ये केहीले नेपालको आलोचना गरेका छन्। उनीहरूले एमाले विभाजन गर्ने नेपालको निर्णयमा प्रश्न गरेका छन्।
त्यसको जवाफमा अध्यक्ष नेपालले उनीहरूलाई ‘दास’ संज्ञा दिएका छन्। “कथित १० भाइ, विभिन्न व्यक्तिहरूका अभिव्यक्ति म सुन्दै छु, उनीहरूको दिमागबाट अझै पनि नशा उत्रिएको छैन। तथानाम, जथाभावी लेखिरहेका छन्,” नेपालले भने, “दासोचित ढङ्गले त्यहाँ बसिरहेका छन्। कुनै मूल्य र मान्यता छैन। कुनै पदीय गरिमाको सम्मान पाएका छैनन्। तर, पनि अहिले हामीलाई धारेहात लगाउनका लागि दुस्साहस गरिरहेका छन्, नगरून।”
शनिबारदेखि काठमाडौंमा शुरू भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेबाट आफूहरूले गरेको विद्रोह जायज भएको जिकिर गरे। “बाध्य भएर हामीले विद्रोह गरेका हौं। अहिलेसम्मका घटनाक्रमले के पुष्टि गरेको छ भने विद्रोह गर्नैपर्थ्यो, त्यो जायज थियो,” नेपालले भने।
एमालेबाट विद्रोह नगरेको भए १० नेताले जस्तै दास भएर बस्नुपर्ने नेपालको भनाइ थियो। उनले भने, “विद्रोह नगरेको भए हामीले दास बन्नुपर्थ्यो। या राजनीतिबाट पलायन भएर हिंड्नुपर्ने थियो।”
एमालेमै बसेका १० नेताले दास भएर बस्न रुचाएको नेपालको आरोप थियो। उनले भने, “अहिलेसम्म पनि कसैको आँखा खुलेको छैन भने उनीहरूको पनि आँखा खुलोस्।”
काठमाडौंमा शुरू भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक दुई दिनसम्म चल्नेछ। बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षासँगै आगामी संघ र प्रदेशको चुनावको तयारीका विषयमा छलफल हुने जनाइएको छ।