पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घट्यो
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको बताए। आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थमा लगाएको कर घटाउने निर्णय गरेको मन्त्री बडूले जानकारी दिए।
जस अनुसार, पेट्रोलमा प्रति लिटर २० रुपैयाँ र डिजेलमा प्रति लिटर २९ रुपैयाँ घटाइएको हो। अब पेट्रोल प्रति लिटर १७९ रुपैयाँ र डिजेल प्रति लिटर १६३ रुपैयाँ हुनेछ। यो निर्णय आज राति १२ बजेदेखि लागू हुनेछ।
“पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन गरेर पेट्रोल प्रति लिटर १७९ र डिजेल प्रति लिटर १६३ बनाउने निर्णय भएको छ,” मन्त्री बडूले भने, “अर्थ मन्त्रालयले आवश्यक कानूनी प्रक्रिया अघि बढाउँदै गर्छ। जनताले आजै राति १२ बजेदेखि घटेको मूल्यमा पेट्रोल र डिजेल पाउँछन्।”
यसअघि पेट्रोलको मूल्य प्रति लिटर १९९ र डिजेल प्रति लिटर १९२ रुपैयाँ रहेको थियो।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो। त्यसका लागि पेट्रोलियम पदार्थमा लगाएको कर घटाउनुपर्नेमा जोड दिएको थियो।
यसअघि पनि सरकारले १० रुपैयाँ घटाएको थियो। त्यति वेला पूर्वाधारका लागि लगाएको कर हटाएको थियो। तर, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि फेरि बढेको थियो।
पेट्रोलियम पदार्थको मूल्य घटाउँदा महङ्गी पनि केही घट्ने उनको भनाइ छ। “यसले समग्र समाधान त होइन, तत्कालका निम्ति जनताले भोग्नुपरेको समस्या छ, त्यसमा केही राहत दिन्छ भन्ने विश्वास लिएका छौं,” मन्त्री बडूले भने।