मन्त्रीलाई अपराधी जस्तो व्यवहार भएको भन्दै एकीकृत समाजवादी संसदीय दलको बैठक माग
पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू हेरफेर गर्ने निर्णयसँगै नेकपा (एकीकृत समाजवादी)मा विवाद चर्किएको छ।
पार्टीले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि चार मन्त्री सहित १० सांसदले संसदीय दलको बैठक बोलाउन माग गरेका हुन्।
यसरी बैठक माग गर्नेहरूमा मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठ तथा सांसदहरू कृष्णलाल महर्जन, गोपाल बम, बिनादेवी बुढाथोकी, निरा जैरू, पुष्पाकुमारी कर्ण कायस्थ र धनबहादुर बुढा छन्।
पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “पूर्व जानकारी गराउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्रीबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्याएर र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो।”
यस्तो व्यवहार कुनै पनि हालतमा ठीक मान्न नसकिने १० सांसदको भनाइ छ। संस्थापन पक्षले भने ६ महीनाका लागि पठाइएकाले अहिलेका मन्त्रीहरू फिर्ता आउनुपर्ने बताउँदै आएको छ।
गत वर्ष नेकपा (एमाले)बाट विभाजित भएर बनेको एकीकृत समाजवादीका कुल २३ सांसद छन्।