सुर्खेतको टर्की फार्ममा देखियो बर्डफ्लु
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु देखिएको छ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा बिहीबार गरिएको परीक्षणबाट बर्डफ्लु पुष्टि भएको हो। एक सयभन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमूना काठमाडौं पठाइएको थियो।
पशुपन्छी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको बताए। बर्डफ्लु पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर टर्की, कुखुरालाई नष्ट गर्न निर्देशन दिएको छ।
पशुपन्छी विकास निर्देशनालयले पशु चिकित्सक सहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि पाँच सय मिटरसम्म क्षेत्रमा पालिएका पन्छीलाई नष्ट गर्ने तयारीमा रहेको जनाएको छ। बर्डफ्लु फैलिएको फार्ममा साना-ठूला गरी करीब एक हजार पाँच सयभन्दा बढी टर्की छन्।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताए। उनले भने, “आफूले पालेका पन्छीमा शङ्कास्पद लक्षण देखिएमा उपभोग तथा बिक्री वितरण रोकेर पशु चिकित्सकलाई खबर गर्न आग्रह गरेका छौं।”