३५ वर्षीय ज्वारचन वायुसेवा निगमको महाप्रबन्धक
नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धक नियुक्त गरेका हुन्। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी अब ज्वारचनले सम्हाल्ने मन्त्रालयले जनाएको छ।
निगमको अप्रेशन निर्देशक रहेका ३५ वर्षीय ज्वारचनले वरिष्ठ पाइलटको हैसियतमा न्यूनतम उडान गर्ने गरी जिम्मेवारी पाएका छन्। उनले कोभिड–१९ महामारीका वेला अत्यावश्यक स्वास्थ्य सामग्री ढुवानीमा अग्रपङ्क्तिमा रहेर काम गरेका थिए।
सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई निष्कासन गरिसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारी छानबिन समिति बनेसँगै निलम्बनमा परेका छन्। पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन करीब १३ वर्षदेखि निगमको व्यवस्थापकीय जिम्मेवारीमा छन्।
राजनीतिक र आर्थिक विवादमा नपरेका र निगमकै वरिष्ठ पाइलटलाई सरकारले कार्यकारी जिम्मा दिएकामा कर्मचारी पनि सन्तुष्ट देखिएका छन्। (रासस)