हाम्राे पार्टीका मन्त्री छिट्टै परिवर्तन हुन्छन्: उपमहासचिव खतिवडा
नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू हेरफेर गर्ने निर्णय सकेसम्म चाँडो कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ।
एकीकृत समाजवादीको बिहीबार बसेको सचिवालय बैठकपछि पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले मन्त्री परिवर्तन गर्ने निर्णय कार्यान्वयन हुने बताएका हुन्। “अब दिनहरूमा होइन, घण्टाहरूमा मन्त्रीहरू हेरफेर गर्ने दिशामा लागिरहेका छौं,” प्रचार विभाग प्रमुख समेत रहेको खतिवडाले बैठकपछि भने।
एकीकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रामकुमारी झाँक्री शहरी विकास, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा र गोविन्दप्रसाद शर्मा (गोविन्द बन्दी) कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री छन्।
जेठ २२ गते बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। उनीहरूको ठाउँमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र भवानी खापुङलाई मन्त्री बनाउने निर्णय गरेको थियो।
श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चौधरीले शहरी विकास, कुँवरले श्रम तथा रोजगार र खापुङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने निर्णय गरेको थियो। त्यसै निर्णयलाई कार्यान्वयन गर्ने आजको सचिवालय बैठकले निर्णय गरेको हो।