नागरिकता विधेयक टुङ्गो लगाउने गठबन्धनको निर्णय
सत्तारूढ पाँच दलीय गठबन्धनले संसद्मा विचाराधीन नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकले नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। बैठकपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै प्रवक्ता कार्कीले भने, “प्रधानमन्त्रीजीले नागरिकता विधेयकलाई अघि बढाउने प्रस्ताव गर्नुभएको थियो। गठबन्धनको बैठकले त्यसमा निर्णय गरेको छ।”
नागरिकताको समस्या समाधान गर्न यो विधेयक टुङ्गोमा पुर्याउने निर्णय भएको उनको भनाइ छ। “अहिले समाजमा बुबा नागरिक, आमा नागरिक तर उनका सन्तानहरू नागरिकताविहीन भइरहेका छन्। यसलाई अन्त्य गर्न अग्रसरता लिने निर्णय भएको छ,” कार्कीले भने।
अहिले नागरिकता सम्बन्धी विधेयक संसद्मा विचाराधीन छ। नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई दिने अङ्गीकृत नागरिकता लगायत विषयमा दलहरूबीच सहमति जुट्न नसक्दा नागरिकता विधेयक लामो समयदेखि संसद्मै अड्किएको छ।
त्यस्तै, गठबन्धनको बैठकले शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्याउने निर्णय गरेको छ। बैठकमा कानून मन्त्री गोविन्दप्रसाद कोइरालाले शान्ति प्रक्रियाका बाँकी कामका विषयमा जानकारी दिएका थिए।