रवि लामिछानेले गरे नयाँ पार्टी घोषणा
पत्रकारिता छाडेर राजनीतिमा लाग्ने बताएका रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेका छन्।
लामिछानेले असार ७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा कार्यक्रम गरी राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्। आफ्नो पार्टीमा कार्यकर्ता नहुने तर सदस्य भने हुने बताए। उनले प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने बताए। उनीहरूलाई मन्त्रीमण्डलका सदस्य आफैं चुन्ने अधिकार दिइने समेत उनले बताए।
लामिछानेले पार्टीमा ५१ प्रतिशत युवा हुने समेत उनले बताए। आफ्नो पार्टीले व्यापारीबाट चन्दा नलिने तर सर्वसाधारणबाट सहयोग लिने बताएका छन्। उनले आफ्नो पार्टीले कोही पनि आफन्त तथा नातागोताका व्यक्तिलाई सरकारी नियुक्ति नदिने बताएका छन्। त्यस्तै, विकास र सुशासनको मोडल देखाउनेलाई चुनावमा टिकट दिने बताए।
लामिछानेले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिह्न घण्टी रहने जानकारी दिए। आफ्नो पार्टीबाट कसैले जितेर काम नगरे फिर्ता बोलाउने व्यवस्था गर्ने‚ आगामी दिनमा भाषणभन्दा योजना लिएर अघि बढ्ने उनले बताए। उनले भने, “अब भाषण गर्नेलाई होइन, जान्नेलाई छान्ने।”