काठमाडौंमा भेटिए हैजाका दुई बिरामी
काठमाडौंमा दुई जना बिरामीमा हैजा रोगको जीवाणु देखिएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखाला लागेर उपचार गर्न आएका दुई जनामा हैजाका जीवाणु भेटिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार, काठमाडौं महानगरपालिका-२८ मा बस्दै आएका एकै परिवारका दुई जनामा हैजाको जीवाणु देखिएको छ। उनीहरू १८ र २३ वर्षका रहेको मन्त्रालयले जनाएको छ।
दुई बिरामीमा हैजाको जीवाणु भेटिएपछि स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरू त्यसको नियन्त्रणका लागि सरोकारवालासँग आकस्मिक बैठक बसेको मन्त्रालयले जनाएको छ।
यसअघि २०७८ असोज १८ गते कपिलवस्तुको शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकामा पनि हैजा देखिएको थियो। प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो। त्यति वेला एक हजार पाँच सय जना सङ्क्रमित भएका थिए भने सात जनाको मृत्यु भएको थियो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, चार वर्षपछि पहिलो पटक नेपालमा हैजाको प्रकोप फैलिएको थियो। त्यही महीना सप्तरीको रुपनी गाउँपालिकामा पनि हैजाको प्रकोप फैलिएको थियो। त्यहाँ भने मानवीय क्षति हुनबाट जोगिएको थियो।
खानेकुरा, खानेपानी र व्यक्तिगत सरसफाइका कारण हैजा फैलिने विज्ञहरू बताउँछन्। अहिलेको सन्दर्भमा खानेपानी दूषित भएर हैजा फैलिएको हुन सक्ने सरुवारोग विशेषज्ञ डा. पुनको भनाइ छ।
उनका अनुसार, कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हैजा हुन्छ। सामान्यतया झाडापखाला जस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुन्छ। सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्यु समेत हुन सक्छ।
सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिने डा. पुन बताउँछन्। उनका अनुसार, हैजा भएका मानिसलाई निरन्तर दिसा लाग्छ।
त्यस्तै, पटक पटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिने जस्ता समस्याहरू अधिकांश बिरामीमा देखिन्छन्। “शरीरबाट अधिक तरल पदार्थ खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा लाग्ने तथा बेचैनी समेत हुन्छ,” डा. पुन भन्छन्।