मंसीरमै चुनाव गर्ने तयारी छ: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसीरमै चुनाव गर्ने तयारी भइरहेको बताएका छन्।
आइतबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले संघ र प्रदेशको चुनाव एकै पटक हुने बताए। “संघीय र प्रदेश सभाको निर्वाचन आइसकेको छ,” अध्यक्ष नेपालले भने, “आगामी ६ महीनाभित्रै चुनाव हुन्छ। मंसीरलाई नै आधार मानेका छौं।”
उनले चुनावका विषयमा गठबन्धनमा छलफल चलिरहेको बताए। अब संघ र प्रदेशको चुनावका उम्मेदवार र सीट विभाजनका विषयमा छलफल हुने बताए।
यससँगै अध्यक्ष नेपालले एकीकृत समाजवादी गठबन्धनमा निर्भर नहुने जिकिर गरे। स्थानीय चुनावमा गठबन्धनमा धेरै निर्भर भएको जनाउँदै अब आफ्नो शक्तिमा जोड दिन कार्यकर्तालाई निर्देशन दिएको बताए।
“स्थानीय तहको चुनावमा हामी गठबन्धनमा बढी आशावादी भयौं,” नेपालले भने, “अब पार्टी पङ्क्तिलाई भनिरहेका छौं, गठबन्धनको गीत गाउन बन्द गर्नुहोस्।”
उनले आफ्नो शक्ति वृद्धि गर्ने विषयमा जोड दिएको बताए। यसँसँगै संगठन विस्तार गर्न र गाउँ गाउँ पुग्न कार्यकर्तालाई आग्रह गरे।