संसद्मा खरो बोल्नेहरूकै पालामा एसपीपीमा पत्र लेखिएको रहेछ: विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) सरकारकै पालामा अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) का लागि पत्र पठाएको पाइएको बताएका छन्।
शनिबार नेपाल शिक्षक संघ, ललितपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपाली सेनाले पत्र पठाउने समयमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको स्पष्ट भएको बताए। एसपीपीका विषयमा एमाले नेताहरूले बेकारमा कांग्रेसलाई आक्षेप लगाएको उनको भनाइ थियो।
“संसद्मा उभिएर कसैले भनिदिनुहुन्छ, हामीले त रोक्ने प्रयत्न गरेका थियौं, कांग्रेस गम्भीर भएन,” शर्माले भने, “२४ घण्टा पुग्दा थाहा हुन्छ, जसले त्यसरी खरो शब्दमा बोल्नुभयो, उहाँहरूकै पालामा त्यसरी लेखिएको रहेछ।”
नेपाली सेनाले २०७२ कात्तिक १० गते अमेरिकी दूतावासलाई पत्र पठाएको खुलेको थियो। जसमा एसपीपीमा सहभागिताका लागि आग्रह गरिएको थियो। त्यति वेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री थिए। त्यसबारे आफूलाई जानकारी नदिएको ओलीले बताउँदै आएका छन्।
एसपीपीको विषयमा मात्रै नभएर अन्य सैन्य रणनीतिमा सहभागी हुँदैन भनेर शक्तिराष्ट्रहरूलाई भन्नु सक्नुपर्ने शर्माको जोड थियो। “अमेरिका होस् कि चीन, हामीले प्रष्ट शब्दमा ‘नो, थ्याङ्कस्’ भन्नुपर्छ,” शर्माले भने, “हामी कुनै पनि देशको सैन्य रणनीतिमा कहिले पनि सामेल हुँदैनौं।”