स्वीस ब्यांकमा नेपालीको बचत ३८ अर्ब, एकै वर्षमा रु.आठ अर्ब रकम झिकियो
शङ्कास्पद धन लुकाउन सजिलो मानिने स्वीस ब्यांकमा नेपालीले बचत गरेको रकम घटेको छ।
स्वीस नेशनल ब्यांकमा सन् २०२१ मा नेपालीको बचत रकम २९ करोड ८० लाख स्वीस फ्र्यान्क (अहिलेको विनिमय दर अनुसार करीब रु.३८ अर्ब ४ करोड) मा ओर्लिएको हो। यो सन् २०२० मा ३६ करोड ८ लाख स्वीस फ्र्यान्क (करीब रु.४६ अर्ब ६ करोड) थियो।
एकै वर्षका बीचमा नेपालीको बचत ६ करोड २८ लाख स्वीस फ्र्यान्क (करीब रु.आठ अर्ब) ले घटेको स्वीस नेशनल ब्यांकले सार्वजनिक गरेको सन् २०२१ को प्रतिवेदनले देखाएको छ। ब्यांकले विभिन्न देशसम्बद्ध व्यक्ति र संस्थाको खाताको विश्लेषण मार्फत ब्यांकको दायित्व अन्तर्गत यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो।
स्रोतको खोजी नगरिने तथा ग्राहकको उच्चस्तरको गोपनीयता राख्ने भएकाले गैरकानूनी क्रियाकलापबाट आर्जित रकम लुकाउन स्वीस ब्यांक प्रयोग हुने गरेको आरोप लाग्ने गर्छ। खास गरी अपराध, कर छली, भ्रष्टाचार, मानव तथा हतियार बेचबिखन लगायत गैरकानूनी क्रियाकलापबाट आर्जित धन लुकाउन स्वीस ब्यांक प्रयोग हुने गरेको भनी विश्वव्यापी रूपमा आलोचना हुन्छ।
पारदर्शिता कमजोर भएको स्वीस ब्यांकमा नेपालीले बचत गरेको रकम पनि सम्पत्ति शुद्धीकरण गर्न प्रयोग भएको हुन सक्ने जोखिम छ। विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने सम्बन्धी ऐन २०२१ ले पनि नेपाली नागरिकले विदेशमा ब्यांक खाता खोल्न तथा लगानी गर्न नपाउने व्यवस्था गरेको छ । यद्यपि, विदेशस्थित विभिन्न निकायहरूमा कार्यरत नेपालीले वैध रूपमा आर्जन गरेको धन समेत वैधानिक रूपमा स्वीस ब्यांकका खातामा रहने गर्छन्। त्यसैले, स्वीस ब्यांकमा भए जति सबै रकम कालो धन भनेर औंल्याउनु गलत हुन्छ।
सन् २०२० मा स्वीस ब्यांकमा नेपालीले जम्मा गरेको मौज्दात रकम अहिलेसम्मकै उच्च ३६ करोड आठ लाख २३ हजार स्वीस फ्र्यान्क पुगेको थियो। त्यो सन् २०१९ को तुलनामा झण्डै दोब्बर थियो। सन् २०१९ मा नेपालीको मौज्दात रकम १७ करोड ५८ लाख स्वीस फ्र्यान्क थियो। सन् २०१७ पछि लगातार दुई वर्ष घटेको नेपालीको बचत सन् २०१९ मा उच्च बिन्दुमा पुगेको थियो। यद्यपि, स्वीस ब्यांकले यो बचत रकम कसको र कति जना नेपालीको हो भनेर विवरण दिंदैन।
१९९६ देखि २०२१ सम्म नेपालीले स्वीस ब्यांकमा तीन अर्ब १८ करोड ९३ लाख स्वीस फ्र्यान्क (अहिलेको विनिमय दर अनुसार रु.चार खर्ब सात अर्ब) जम्मा गरिसकेको देखिन्छ। नेपालमा द्वन्द्व शुरू भएको वर्षदेखि नै स्वीस ब्यांकमा रकम जम्मा हुन थालेको अभिलेख छ। तर, हरेक वर्ष यो रकम झिकिंदै पनि आएका कारण अहिलेको मौज्दात कम छ। सन् १९९६ मा ब्यांकमा नेपालीले चार करोड ७४ लाख स्वीस फ्र्यान्क जम्मा गरेका थिए।
सन् २०१९ जनवरीमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘द इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स‘ (आईसीआईजे) र नेपालस्थित खोज पत्रकारिता केन्द्र (खोपके) ले स्वीस ब्यांकमा तीन नेपालीको खाता रहेको विवरण सार्वजनिक गरेको थियो। बेलायतको लन्डनमा बस्दै आएकी नेपाली नागरिक मिनु शाह छिब्बर र उनका दुई छोराले स्वीस ब्यांकमा खाता खोलेर रकम जम्मा गरेको आईसीआईजेको विवरणमा उल्लेख छ।