जग्गा माग गर्दै वनकरिया सिंहदरबारमा
वर्षौदेखि सुकुम्बासीको रुपमा मकवानपुरको मनहरी गाउँपालिका-४ ट्वाङ्ग्रामा बसोबास गर्दै आएका लोपोन्मुख वनकरीया जग्गाको माग गर्दै सिंहदरबार पुगेका छन्।
सरकारले भूमीहिनलाई जग्गा वितरण गरिरहेको र आफूहरूले पनि पाउनुपर्ने माग गर्न उनीहरू सिंहदरबार पुगेका हुन्। मनकरी–४ का वडाध्यक्ष प्रकाश थापासहित सिंहदरबार पुगेका उनीहरूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई भेटेर आफ्ना माग राखेका छन्।
“धेरै कुरा हाम्रै वडाबाट हुने रहेछ, तैपनि हामीले मन्त्री भेटेर फर्कियौं, उहाँले हाम्रो कुरा राम्ररी सुन्नु भयो,” स्थानीय अगुवा सन्तमाया वनकरीयाले भनिन्।
यस वडामा रहेका वनकरीयालाई सामुहिक लालपुर्जा उपलब्ध गराउनु पर्ने मागमा आफूले समन्वय गरेको वडाध्यक्ष थापाले बताए। यसका लागि वडा कार्यालयले पनि माग गरेको अध्यक्ष थापाले बताए।
मन्त्री श्रेष्ठले स्थानीय स्तरबाट लालपुर्जा उपलब्ध गराउन समस्या भए मन्त्री स्तरबाटै समस्या सुल्झाउने प्रतिबद्धता गरेकी छन्।
यसक्षेत्रमा १९ परिवार वनकरिया बसोबास गर्दै आएका छन्। आधारभूत आवश्यकता पूरा गर्न पनि समस्या भएको स्थानीय सन्तोषी वनकरिया बताउँछिन्।