पहिरोले भाँसिएको मुग्लिन-आँबुखैरेनी सडक बन्द
पहिरोले भाँसिँदा दुई जनाको मृत्यु भएको पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्ड बन्द गरिएको छ।
आँबुखैरेनी-४ पावर हाउस नजिक बिहान सडक भाँसिएपछि अवरुद्ध भएको थियो। दिउसो केही समय चले पनि साँझ ७ बजेदेखि मर्मतका लागि पूर्ण रुपमा बन्द गरिएको हो।
आज बिहान सडक भासिएपछि साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका थिए। सडक भासिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ।
डेढ-दुई मिटर भित्ता खनेर सडक सञ्चालन गर्न काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीकी प्रमुख लक्ष्मी केसीले जानकारी दिइन्। शनिबार बिहान ६ बजेसम्मका लागि सडक बन्द गरिएको उनले बताइन्।
सडक भाँसिएको ठाउँमा कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये एक जनाको सनाखत भएको छ भने अर्का व्यक्तिको सनाखत नभएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए।
मृत्यु हुनेमा गोरखा घर भई आँबुखैरेनी-२ बस्ने ३५ वर्षीय केशव घिमिरे रहेका छन्। अर्का व्यक्तिको सनाखत गर्न प्रयास भइरहेको डीएसपी खड्काले बताए।