यू-१९ विश्वकप एशिया छनोटमा नेपालको विजयी शुरूआत
नेपालले आइसीसी यू–१९ महिला टी–२० विश्वकप एशिया छनोटमा विजयी शुरुआत गरेको छ।
मलेशियाको यूकेएम ओभलमा शुक्रबार भएको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको हो। नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो। कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४/१४ रन जोडे।
कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सृष्टि जैसीले तीन विकेट लिइन्। यस्तै‚ अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले दुई/दुई विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर ११७ रन बनाएको थियो। नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहँदै ३२ रन बनाइन्। यस्तै‚ सृष्टि जैसीले अविजित २३, सानु राजवंशीले २१ तथा अञ्जली विश्वकर्माले ११ रन जोडे। किरणकुमारी कुँवरले एक रन मात्र बनाइन्।
बलिङतर्फ कतारकी साची ढड्वाल र अलिना खानले एक-एक विकेट लिए। छनोटमा नेपाल सहित, आयोजक मलेशिया, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्यान्ड, भुटान र कतार छन्। अब नेपालले दोस्रो खेल युएई विरुद्ध शनिबार खेल्नेछ।-रासस