बजेट अपराह्न ४ बजे सार्वजनिक हुँदै, आयकरको सीमा बढ्ने
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै छ। अपराह्न ४ बजे बस्ने संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सरकारको आगामी आर्थिक वर्षको अनुमानित आय-व्यय विवरण प्रस्तुत गर्नेछन्।
करीब रु.१७ खर्ब हाराहारीको हुने अनुमान गरिएको बजेटले यही वर्ष हुने संघीय र प्रदेश सभा निर्वाचन लक्षित गरी मतदाता रिझाउने लोकप्रिय कार्यक्रम घोषणा गर्ने सम्भावना छ। खास समूहलाई लक्षित गरी कर छूट सुविधामा वृद्धि, कर्मचारीको तलब-भत्ता वृद्धि तथा सामाजिक सुरक्षाका कार्यक्रममा थप वितरणमुखी प्रस्ताव गर्ने बताइएको छ।
सबै सरकारी कर्मचारीको तलब एकमुष्ट रु.दुई हजार बढाइने तयारी छ। त्यसै गरी, सामाजिक सुरक्षा अन्तर्गत ज्येष्ठ नागरिक भत्ता पाउने अवधि ७० वर्षबाट ६८ वर्षमा झारिने तयारी गरिएको छ। वेतनभोगीलाई लक्षित गरी आयकर लाग्ने सीमा परिवर्तन गरी रु.पाँच लाख ५० हजार (विवाहितको हकमा) पुर्याइने तयारी छ। अहिले दम्पतीलाई रु.चार लाख ५० हजारसम्म एक प्रतिशत मात्रै आयकर लाग्छ। अब, वार्षिक रु.पाँच लाख ५० हजारसम्म कमाउनेले १ प्रतिशत मात्रै कर तिरे पुग्नेछ।
बजेटले कृषि र ऊर्जा लगायत उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राख्ने घोषणा गर्नेछ। गत साता सार्वजनिक सरकारको नीति तथा कार्यक्रमले पनि कृषि र ऊर्जा सहितका उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेको थियो।
देशको अर्थतन्त्रको हिसाबकिताब बिग्रिएका वेला सरकारले बजेट मार्फत फजुल खर्च र अनावश्यक वितरणमुखी कार्यक्रम कटौती गर्नुपर्ने जानकारहरूको सुझाव विपरीत सरकारले ठूलै आकारको बजेट सार्वजनिक गर्न लागेको हो। हरेक वर्षजसो सरकारले ठूलो आकारको बजेट सार्वजनिक गर्ने तर लक्ष्य अनुसार खर्च नहुने अभ्यास चल्दै आएको छ।