काठमाडौं सहित पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा
काठमाडौं सहित देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, देशभर स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा तथा पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो र राति पनि प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको आकलन छ।
आइतबार प्रदेश १, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, बाँकी भूभागमा आंशिक बदली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।