१५० पालिकामा प्रमुख वा उपप्रमुख बन्ने महिलाको हक हरण भयोः पाण्डे
नेकपा (एमाले) नेत्री विन्दा पाण्डेले १५० भन्दा बढी पालिकामा महिलाको प्रमुख वा उपप्रमुख बन्ने हक हरण भएको बताएकी छन्।
स्थानीय चुनावमा दलहरूले कानूनी छिद्र खोजेर महिलाको संवैधानिक हक खोसेको पाण्डेको भनाइ छ। “कानूनी छिद्र खोजेर गठबन्धनका नाममा महिलालाई उम्मेदवार हुने हकबाट समेत वञ्चित गरिएका कारण १५० भन्दा बढी ठाउँमा महिला प्रमुख वा उपप्रमुख बन्ने हक हरण गरियो,” प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा उनले भनिन्।
समावेशी सहभागिताका विषयमा गरिएको छलीप्रति सत्ता गठबन्धनमा सहभागी दलहरूले माफी माग्नुपर्ने पाण्डेको भनाइ छ।
७५३ पालिकामध्ये जम्मा १३ मेयर र १२ अध्यक्ष महिला निर्वाचित भएका छन्। जम्मा ३५५ पालिकाको उपप्रमुखमा महिला निर्वाचित भएका छन्। जबकि, २०७४ को चुनावमा ७०० महिला उपप्रमुख निर्वाचित भएका थिए।