पेट्रोलियम पदार्थमा लगाएको कर समायोजन हुन्छ: मन्त्री बडू
सरकारले पेट्रोलियम पदार्थमा लगाएको कर समायोजन गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन्।
युक्रेनमाथि रूसी आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको छ। जसले गर्दा नेपालमा पनि इन्धनको मूल्य अत्यधिक बढेको छ।
त्यसलाई सम्बोधन गर्न जेठ १० गते बसेको मन्त्रिपरिषद् बैठकले मूल्य समायोजन गर्ने सैद्धान्तिक निर्णय गरेको मन्त्री बडूले बताए। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन गर्ने विषयमा मन्त्रिपरिषद्ले सैद्धान्तिक निर्णय गरेको जानकारी दिए।
अहिले इन्धनमा प्रति लिटर रु.१० बराबरको कर उठाइँदै आएको छ। शुरूआतमा बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि भनेर प्रति लिटर रु.पाँचका दरले कर उठाइएको थियो। त्यसपछि पूर्वाधारको विकासका लागि प्रति लिटर रु.पाँच थप कर उठाउन थालिएको हो।
बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि मात्रै ७० अर्बभन्दा बढी सङ्कलन भएको छ। पूर्वाधार करका नाममा उठेको रकम सोझै सरकारको राजस्व खातामा जम्मा हुने गरेको छ।
मन्त्रिपरिषद्ले कर समायोजनका सम्बन्धमा निर्णय गरेको भए पनि अर्थ मन्त्रालयले आवश्यक निर्णय गर्नुपर्नेछ। अर्थ मन्त्रालयले त्यस सम्बन्धमा विचार गरिरहेको मन्त्री बडूले बताए।