अर्थतन्त्र सुधार्न कर्जा र ब्याजदरमा थप कडाइ गर्ने राष्ट्र ब्यांकको सङ्केत
नेपाल राष्ट्र ब्यांकले फेरि ब्याजदर वृद्धिको सङ्केत गरेको छ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय ब्यांकले मूल्यवृद्धि र विदेशी मुद्राको सञ्चितिमा थप चाप परेमा ब्याजदर बढाउन सकिने सङ्केत गरेको हो। “मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ,” समीक्षामा भनिएको छ।
मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा मार्फत केन्द्रीय ब्यांकले नीतिगत ब्याजदर दुई प्रतिशतले बढाइदिएको थियो। समीक्षाले आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनोटपूर्ण उपकरणहरू प्रयोग गरिने उल्लेख गरेको छ। यसले अनुत्पादक क्षेत्रतर्फको लगानीमा लगाम कस्न मौद्रिक उपकरणहरू चलाउन सक्ने सङ्केत गरेको छ।
केन्द्रीय ब्यांकले मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखा परेको दबाब यथावत् रहेकाले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको जनाएको छ। कतिपय शेयर बजार कारोबारीले मौद्रिक नीतिको तेस्रो समीक्षा मार्फत शेयर बजारतर्फ प्रवाह हुने कर्जामा लचकता अपनाइने अनुमान गरिरहँदा केन्द्रीय ब्यांकले आफ्नो निर्णयमा पुनर्विचार गरेन।
मौद्रिक नीतिको तेस्रो समीक्षाले पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, रूस-युक्रेन युद्ध, कोभिड-१९ महामारीपश्चात् आन्तरिक मागमा भएको विस्तार र स्थानीय तह निर्वाचनको समयमा भएको आर्थिक गतिविधिले मूल्यमा चाप पर्न गएको उल्लेख गरेको छ। ब्यांकका अनुसार, चैतमा मूल्यवृद्धि दर ७.२८ प्रतिशत पुगेको छ।