स्थानीय चुनावमा पञ्चायतकालमा भन्दा बढी धाँधली भयोः ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनलाई जिताउन सरकारले पञ्चायतकालभन्दा बढी धाँधली गरेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, “यस्तो नाङ्गो ढङ्गले राज्य संयन्त्रको दुरुपयोग गरेर कब्जै गर्ने खालको सत्तापक्षीय क्रियाकलाप पञ्चायतले पनि गर्दैनथ्यो।”
चुनावको मकसद नै प्रतिपक्षलाई सिध्याउँछ भन्ने उद्घोषका साथ भएको उनको भनाइ थियो। २०७४ सालमा पनि कांग्रेस र माओवादीको संयुक्त सरकारले नै चुनाव गराएको थियो। तर, त्यति वेला पनि यस पटक जस्तो हिंसात्मक, आक्रामक र लोकतन्त्रलाई मजाकको विषय बनाउने काम नभएको ओलीको दाबी छ।
पूर्व प्रधानमन्त्री ओलीले बैठकमा भने, “सरकारले धाँधलीमा नयाँ कीर्तिमान कायम गर्यो।”