स्थानीय तहमा गैरदलीय चुनाव गर्न तमलोपाको माग
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले स्थानीय चुनाव दलीय आधारमा नभई व्यक्तिगत क्षमता र योग्यताको आधारमा गर्नुपर्नेमा जोड दिएको छ।
स्थानीय तह निर्वाचन २०७९ को परिणाम घोषणा अन्तिम चरणमा पुगेका बेला तमलोपाले यस्तो माग गरेको हो। स्थानीय सरकारले विकास, सफाइ, स्वास्थ्य, शिक्षा, व्यापार, दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वरोजगारीमा वृद्धि तथा कृषि र पशुपालन, स्थानीय भाषा, संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्ने भएकाले पार्टीभन्दा योग्य व्यक्तिमा जोड दिनुपर्ने उसको ठहर छ।
तमलोपा अध्यक्ष वृषेशचन्द्र लालद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह मूलतः स्थानीय विकाससंग सम्बन्धित तह भएको हुँदा यसको निर्वाचन राजनीतिक दलको आधारमा नभई व्यक्तिको क्षमता, दृष्टि तथा जनमानसमा विश्वसनीयताको आधारमा गरिनुपर्ने हाम्रो पार्टीको मान्यता हो।’
निर्वाचनलाई अझ विश्वासिलो र निष्पक्ष बनाउन इलेक्ट्रोनिक मतदान तथा निर्वाचन आचारसंहिताको पालनाको सुनिश्चितता आवश्यक भएको तमलोपाको ठहर छ।