वैशाखमा आयातको गति मत्थर, एक चौथाइ हिस्सा पेट्रोलियम पदार्थ र गाडीको
उच्च दरमा बढिरहेको आयात वैशाखमा केही मत्थर भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, वैशाखमा आयात रु.एक खर्ब ३८ अर्बमा सीमित भएको छ। जुन अघिल्लो महीनाको तुलनामा करीब रु.२० अर्ब थोरै हो।
उच्च आयातका कारण शोधनान्तर घाटा बढेर देशको विदेशी मुद्राको सञ्चिति लगातार घटेपछि सरकारले जीप, कार, भ्यान, मदिरा, हिरा, महँगा टेलिभिजन र मोबाइल सेट लगायत १० विलासी वस्तुको आयात रोक्ने निर्णय गरेको थियो। यसअघि नेपाल राष्ट्र ब्यांकले दर्जनौं वस्तुको आयात निरुत्साहित गर्न प्रतीतपत्र खोल्दा राख्नुपर्ने मार्जिन रकमलाई शत प्रतिशतसम्म बढाइदिएको थियो।
आयात कडाइ गर्ने सरकारको यी प्रयासस्वरूप वैशाखमा आयातको गति केही मत्थर भएको हो। यो वर्ष एक खर्ब ८८ अर्ब मूल्य बराबरसम्मको उच्च आयात भएको थियो।
विभागका अनुसार, वैशाखसम्म नेपालमा रु.१६ खर्ब चार अर्ब ६५ करोड मूल्य बराबरको वस्तु आयात भएको छ। यो बीचमा नेपालले रु.एक खर्ब ७३ अर्ब ३४ करोड बराबरको निर्यात गरेको छ। यो वर्षको १० महीनामा वैदेशिक व्यापारमा नेपालले रु.१४ खर्ब ३१ अर्ब घाटा बेहोरेको छ।
वैशाखसम्म नेपालले रु.तीन खर्ब २५ अर्ब ९२ करोड मूल्य बराबरको कृषिजन्य वस्तु आयात गरेको छ। यो कुल आयातको २० प्रतिशत हो। रु.६४ अर्ब ७१ करोडको अन्न, २० अर्ब ८५ करोडको फलफूल र काजुबदाम, रु.३१ अर्ब ४८ करोडको हरियो तरकारी, रु.२६ अर्ब ३८ करोडको तेल उत्पादन हुने दाना आयात गरेको छ।
यो अवधिमा नेपालले रु.दुई खर्ब ९६ अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ, रु.८६ अर्ब ८१ करोडको सवारी साधन र पाटपुर्जा तथा रु.एक खर्ब ४० अर्बको फलाम आयात गरेको छ।
कुल आयातमा पेट्रोलियम पदार्थ र सवारी साधनको हिस्सा करीब २४ प्रतिशत हुन जान्छ।
कुन महीनामा कति आयात?
वैशाख: रु.एक खर्ब ३७ अर्ब ९९ करोड
चैत: रु.एक खर्ब ५७ अर्ब ९२ करोड
फागुन: रु.एक खर्ब ६१ अर्ब २७ करोड
माघ: रु.एक खर्ब ४८ अर्ब १२ करोड
पुस: रु.एक खर्ब ६० अर्ब ९३ करोड
मंसीर: रु.एक खर्ब ८८ अर्ब ११ करोड
कात्तिक: रु.एक खर्ब ७१ अर्ब ७७ करोड
असोज: रु.एक खर्ब ६४ अर्ब ६१ लाख
भदौ: रु.एक खर्ब ६३ अर्ब ७८ करोड
साउन: रु.एक खर्ब ५० अर्ब ७३ करोड