एक सातामै दोस्रो पटक बढ्यो गाडी भाडा, कहाँको भाडा कति पुग्यो?
सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ। एक साताको अन्तरालमै दोस्रो पटक भाडा वृद्धि गरिएको हो।
जेठ १० गते मंगलबारदेखि लागू हुने गरी सरकारले विद्यमान भाडादरमा तीन प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। यसअघि, ४ जेठमा पाँच प्रतिशतसम्मले भाडा वृद्धि गरिएको थियो।
पेट्रोल तथा डिजेलको मूल्य लगातार बढेसँगै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार भाडा वृद्धि गरिएको विभागले जनाएको छ। बढेको भाडादर दुई वा दुईभन्दा बढी प्रदेश भएर राष्ट्रिय रुटमा सञ्चालित सार्वजनिक सवारी साधनहरूमा लागू हुनेछ।
विभागले यात्रुवाहक सवारी साधनको हकमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २.७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा तीन प्रतिशतले भाडा वृद्धि गरेको छ।
यसअघि जेठ ४ गतेबाट लागू हुने गरी यात्रुवाहक सार्वजनिक सवारी साधनमा साढे तीन प्रतिशतसम्म भाडा बढाइएको थियो। पहाडी बाटोमा चल्ने मालवाहक सवारी साधनको भाडा पनि ४.६ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ५.१ प्रतिशतले ढुवानी भाडा वृद्धि गरिएको थियो।
इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडादर समायोजन प्रणाली अनुसार अन्तरप्रदेशको भाडा समायोजन गर्ने गर्छ।