हरेक निर्वाचनमा अर्को दललाई जिताउँछन् मतदाता
विगतका निर्वाचनका परिणामले मतदातामा पहिलो दल छोडेर अर्कै दल रोज्ने प्रवृत्ति रहेको देखाउँछ।
स्थानीय तह निर्वाचन २०७९ को नतीजा आउँदा नेपाली कांग्रेस पहिलो दलका रूपमा उक्लिएको छ। पाँच वर्ष पहिलेको स्थानीय तह निर्वाचनका तुलनामा यो कांग्रेसले हासिल गरेको उल्लेखनीय फड्को हो। २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस दुई सय ६६ स्थानीय तहको नेतृत्व जितेर दोस्रो स्थानमा सीमित भएको थियो।
के कांग्रेसको फड्को अस्वाभाविक हो? होइन, विगत निर्वाचन परिणामको प्रवृत्तिले सधैं जनमत पहिलो दल छोडेर विपक्षीतर्फ गएको देखाउँछ। अर्थात्, जनमतको रुझान सधैं पहिलो दलको स्थान फेरबदलतर्फ छ।
२०७४ को स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) धेरै स्थानीय तह जितेर पहिलो दल बनेको थियो। सात सय ५३ स्थानीय तहमध्ये उक्त निर्वाचनमा एमालेले दुई सय ९४ स्थान जितेको थियो। अहिले एमालेले परिणाम घोषणा भइसकेका र अग्रता लिएकाको सङ्ख्या हेर्दा दुई सय स्थानीय तहको हाराहारीमा मात्रै जित्ने देखिएको छ। अर्थात्, पहिलोबाट दोस्रो स्थानमा एमाले खस्किने पक्का भएको छ।
लोकतान्त्रिक प्रणाली संस्थागत गर्न पछिल्लो तीन दशकमा नेपालमा ६ वटा आम निर्वाचन र चार वटा स्थानीय तह निर्वाचन भए। अधिकांश यी निर्वाचनको साझा विशेषता हो, ताजा जनमतले ठूलो दलको सट्टा विपक्षी दललाई रोज्ने गरेको देखाउँछ। मतदाताले हरेक निर्वाचनमा विकल्प हेरिरहेको देखिन्छ।
उदाहरणका लागि, पञ्चायत शासन सकिएर प्रजातन्त्र स्थापना पश्चात् २०४९ गरिएको स्थानीय निकाय निर्वाचनमा नेपाली कांग्रेसले ५० प्रतिशत स्थानमा जितेर पहिलो स्थान पाएको थियो। २६ प्रतिशत स्थानमा सहित एमालेको हैसियत दोस्रो भएको थियो। तर, २०५४ को स्थानीय निकाय निर्वाचनमा दोस्रो स्थानमा रहेको एमाले पहिलो स्थानमा उक्लियो भने कांग्रेस दोस्रो स्थानमा झर्यो। त्यो निर्वाचनमा एमाले दुई हजार ३२१ स्थान जितेर पहिलो बन्न पुगेको थियो। यसअघि पहिलो स्थानमा रहेको कांग्रेस एक हजार १९९ स्थान जितेर दोस्रो स्थानमा खुम्चिएको थियो।
आम निर्वाचनमा पनि जनमत परिवर्तनको यही प्रवृत्ति देखिन्छ। प्रजातन्त्र स्थापना पश्चात् २०४८ वैशाखमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसले संसदका २०५ सदस्यमध्ये ५४ प्रतिशत अर्थात् ११० सीट जितेको थियो। दोस्रो ठूलो दल बनेको नेकपा एमालेले ६९ सीट जितेको थियो।
२०५१ कात्तिकमा भएको मध्यावधि निर्वाचनमा भने अघिल्लो निर्वाचनको जनादेश उल्टियो र पहिलो ठूलो दलका रूपमा आइपुग्यो, नेकपा एमाले। यो निर्वाचनमा एमाले ८८ स्थानमा जितेर ठूलो दल बन्यो भने कांग्रेस ८३ सीट सहित दोस्रो स्थानमा ओर्लियो। बरु, यो निर्वाचनमा पूर्व पञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टी २० स्थानमा जितेर तेस्रो बन्यो।
२०५६ को आम निर्वाचनमा मतदाताले फेरि विकल्प रोजे। परिणाम स्वरूप दोस्रो ठूलो दल कांग्रेस पहिलो दलका रूपमा उक्लियो र पहिलो ठूलो दल एमाले दोस्रो बन्न पुग्यो। यो निर्वाचनमा दुई सय पाँच क्षेत्रमध्ये कांग्रेसले १११ ठाउँमा जितेको थियो। एमालेको जित ७१ स्थानमा खुम्चियो। अर्थात्, अघिल्लो निर्वाचनका तुलनामा एमालेले १७ स्थान गुमाउन पुग्यो।
त्यसपछिका आठ वर्ष मुलुकमा निर्वाचन भएन। नेकपा माओवादी हिंसात्मक लडाइँबाट शान्तिपूर्ण राजनीतिमा आएपछि २०६४ मा भएको निर्वाचनको परिणाम उथलपुथलपूर्ण थियो। २०६४ को संविधानसभा निर्वाचनमा मतदाताले आश्चर्यजनक ढङ्गमा माओवादीलाई रुचाए, परम्परागत शक्ति कांग्रेस र एमाले क्रमशः दोस्रो र तेस्रो स्थानमा खुम्चिए।
कुल ६०१ संविधानसभा सदस्यमध्ये माओवादी एक्लैले २२९ सीट जितेको थियो। कांग्रेस ११५ र एमाले १०८ सीटमा सीमित भए। बरु, मधेशकेन्द्रित दलहरू मधेशी जनअधिकार फोरम नेपालले ५४ र तराई मधेश लोकतान्त्रिक पार्टीले २१ स्थानमा जिते।
त्यसको ६ वर्षमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा मतदाताको रुचि फेरि बदलिन पुग्यो। यो निर्वाचनबाट अघिल्लो निर्वाचनमा दोस्रो बनेको कांग्रेस एक सय ९६ स्थान सहित फेरि पहिलो ठूलो दलका रूपमा उक्लियो। अघिल्लो निर्वाचनमा तेस्रो बन्न पुगेको एमाले एक सय ७५ सीट सहित दोस्रो स्थानमा उक्लिन पुग्यो। बरु, अघिल्लो निर्वाचनमा आश्चर्यजनक सङ्ख्या जितेको माओवादी जम्मा ८० सीटमा खुम्चियो।
२०७२ को संविधान र राज्य पुनःसंरचनापछि २०७४ मा भएको आम निर्वाचनमा यसभन्दा अगाडिको दोस्रो ठूलो दल एमाले पहिलो दलका रूपमा उक्लियो। कांग्रेस दोस्रो स्थानमा खुम्चिन पुग्यो। यो निर्वाचनमा दुई सय ७५ सीटमध्ये एमालेले एक सय २१ स्थानमा जितेको थियो भने कांग्रेसले ६३ स्थानमा मात्र। माओवादी तेस्रो दलका रूपमा ५३ स्थानमा सीमित भएको थियो। प्रदेशका निर्वाचनमा पनि अधिकांश स्थानमा एमाले पहिलो दलका रूपमा देखा परेको थियो।
२०७४ मा १४ हजार १०० अर्थात ४० प्रतिशत जनप्रतिनिधि जितेको एमाले २०७९ मा दोस्रो दल बनेको छ। लगातार एउटै दललाई पहिलो पार्टी नबनाएका मतदाताले यसपटक पनि २०७४ को परिणाम दोहोर्याएनन्।
यही वर्ष आम निर्वाचन भएको पाँच वर्ष पुग्दै छ। यो निर्वाचनले यसअघिको प्रवृत्ति पछ्याउला कि अहिलेका दलहरूको हैसियत यथावत् राख्ला?