आयोगले भन्यो–मतदातालाई पित्तलको स्वस्तिक छाप दिने कर्मचारीको विवरण पठाउनु
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा लापरवाही गर्ने कर्मचारीको विवरण पठाउन निर्देशन दिएको छ।
स्थानीय निर्वाचनका क्रममा कर्मचारीले विभिन्न लापरवाही गरेको उजुरी परेपछि आयोगले जेठ ४ गते मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कर्मचारीको विवरण पठाउन निर्देशन दिएको हो।
मतदातालाई मत सङ्केत गर्न रबरको स्वस्तिक छाप दिनुपर्नेमा पित्तलको स्वस्तिक छाप दिने कर्मचारीको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार, मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टी सहित मतपत्र दिने, अर्धकट्टीमा दस्तखत नगराउने कर्मचारीको पनि विवरण सङ्कलन भइरहेको छ।
मतदानका वेला स्ट्याम्प प्याडको सट्टा अर्कै मसी प्रयोग गर्न लगाउने, मतपत्र र मतदाताको सही विवरण नराख्ने, सही किसिमले मुचुल्का तयार नगर्ने, पोलबुकमा स्पष्ट विवरण नराख्ने, मतगणना सम्पन्न भएपछि पनि घोषणा गर्न ढिलाइ गर्ने कर्मचारीको पनि आयोगले नाम सङ्कलन गरेको छ।