गृहमन्त्रीकै भाइ भन्छन्–धाँधली भयो, दुई वटा वडाको मत पुनः गणना गरियोस्
तिलोत्तमा नगरपालिकाको मेयरका उम्मेदवार रामकृष्ण खाणले मतगणनामा धाँधली भएको दाबी गरेका छन्।
गठबन्धनबाट उम्मेदवारी दिएका रामकृष्णले तिलोत्तमा नगरपालिकाका कर्मचारीले नेकपा (एमाले) को पक्ष लिएको आरोप लगाएका हुन्। जेठ ३ गते पत्रकार सम्मेलन गरेर उनले भने, “यो नगरपालिकाका कर्मचारीहरू कतैबाट सञ्चालित छन्।”
गृहमन्त्री बालकृष्ण खाणका भाइ समेत रहेका रामकृष्णले कर्मचारीले ५९ मतलाई ९५ गणना गरेको बताए। “तिलोत्तमा नगरपालिकाका कर्मचारीले गरेको गणना मान्दैनौं, निजामती कर्मचारी नै चाहिन्छ,” रामकृष्णले भने, “वडा नम्बर २ र १६ मा पुनः मतगणना शुरू हुनुपर्दछ।”
एमालेबाट पूर्व पत्रकार मोहन चापागाईंले उम्मेदवारी दिएका छन्। अहिलेसम्मको मत परिणाम हेर्दा चापागाईंले रामकृष्णलाई झिनो मतले उछिनेका छन्।
२०७४ सालमा एमाले उम्मेदवारसँगै पराजित भएका रामकृष्ण दोस्रो पटक उम्मेदवार बनेका हुन्।
कांग्रेससँगै नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), राष्ट्रिय जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दुई वडामा पुनः मतगणनाको माग गरेका छन्।