मतगणनाको रुझानबाट एमाले अत्तालियोः कांग्रेस
नेपाली कांग्रेसले मतगणनाको प्रारम्भिक नतिजाको रुझानबाट नेकपा (एमाले) अत्तालिएको आरोप लगाएको छ।
एमालेले संस्थागत धाँधली भयो भनेको भोलिपल्ट सोमबार कांग्रेस प्रवक्ता प्रकाशशरण महतद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान)ले एमाले अत्तालिएको हामीले पाएका छौं।”
महत विज्ञप्तीमा एमाले अध्यक्ष के.पी. शर्मा ओलीले बैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि जारी विज्ञप्तिमा समेत निर्वाचन निष्पक्ष गर्न प्रमुख भूमिका खेल्ने निर्वाचन आयोग, आयोगद्वारा परिचालित राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएको प्रसंग उल्लेख गरेका छन्।
“निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाँधली गर्यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो।”
स्थानीय निर्वाचन परिणाम स्वभाविक भएको कांग्रेसको ठहर छ।