तनहुँमा मेयरका उम्मेदवार जोशीमाथि कुटपिट
तनहुँको व्यास नगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका छन्।
व्यास नगरपालिका-८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका जोशीलाई कांग्रेसका कार्यकर्ताले कुटेका हुन्। उनको टाउकोमा चोट लागेको छ।
उनी कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा हुन्। उनी नेकपा (एमाले) को समर्थनमा मेयरको उम्मेदवार बनेका छन्।
उनले आफू भागेर जोगिएको बताए। “ममाथि सांघातिक आक्रमण भयो। धन्न कोठाभित्र पसे र बाँचें,” जोशीले भने।
जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जोशीमाथि मतपत्र च्यातेको आरोप लागेको बताए। “उहाँले मतपत्र च्यात्नुभएछ। आक्रोशमा कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन्,” डीएसपी खड्काले भने।