इन्टरनेटको लतबाट कसरी जाेगिने?
इन्टरनेटको लतले पारेको सामाजिक तथा मानसिक प्रभाव अध्ययन गरी आवश्यक नीति बनाउन जरुरी भइसकेको छ।
इन्टरनेटको लतले प्रयोगकर्तामा रोग निम्त्याउनेबारे अहिलेसम्म कुनै स्थापित मान्यता पाइँदैन। तर, बहस जारी छ। कोही इन्टरनेट नै रोग हो भन्छन् त कोही यसमा प्रस्तुत सामग्रीलाई समस्या देख्छन्। इन्टरनेटमा कोही ‘च्याट’ त कोही पढलेख गरेर बस्छन्। कोही चाहिं अश्लील सामग्रीका लती हुन्छन्। बालबालिकाहरू बढीजसो गेम खेल्छन्। त्यसैले उनीहरूमा ‘इन्टरनेट गेमिङ डिस्-अर्डर’ को समस्या विकराल बन्दै छ। यस्ता समस्याको उपचार गराउन पुनःस्थापना केन्द्र समेत खुल्न थालेका छन्।
‘गेमिङ डिस्-अर्डर’ भनेको इन्टरनेटमा खेलिने खेलको लत हो। यसमा खेल छाड्दा छटपटी हुने, टाउको दुख्ने, निद्रा नलाग्ने, झर्केर बोल्ने, समयमा खाना नखाने, पढाइमा ध्यान नदिने, अधीर हुने जस्ता समस्या देखिन्छन्। लामो समय खेलमा बिताउँदा दिमागमा गहिरो छाप पर्ने भएकाले बालबालिकाले त्यत्तिकै बस्दा पनि खेलेकै वेलाको जस्तो क्रियाकलाप देखाउन सक्छन्।
वरिपरिका मानिससँग धेरै नबोल्ने बानीले उनीहरूलाई असामाजिक बनाउँछ। यसै कारण केही देशमा अनलाइन गेमलाई प्रतिबन्ध समेत लगाइएको छ। नेपालमा पनि पब्जी लगायत खेलको लतबाट बालबालिकामा विभिन्न समस्या देखिएका समाचार सुनिँदै आएको छ।
लामो समय इन्टरनेट प्रयोग गर्दा आँखा दुख्ने, ढाड र हातको जोर्नीमा समस्या हुने, निद्रा बिग्रने, सिर्जनशीलता घट्ने जस्ता समस्या आउने अनुसन्धानले प्रमाणित गरिसकेको छ। भर्चुअल संसारमा रमाउँदा नयाँ पुस्तालाई वास्तविक समाजमा भिज्न गाह्रो भइरहेको हुन्छ। यसले पारिवारिक तथा सामाजिक सम्बन्धमा असन्तुलन निम्तिन्छ।
आठ वर्षअघि जर्मनीका एक मनोचिकित्सकले गरेको अनुसन्धानले त्यहाँका केटाकेटीलाई स्मार्टफोन नदिए उनीहरू आफ्नै शहरमा हिंडडुल गर्न नसक्ने निष्कर्ष निकालेको थियो। कहीं जान र आफ्नो घर फर्कन मोबाइल नभई नहुने अवस्था वास्तवमै डरलाग्दो हो।
हामी आफैंसँग पनि पहिले मोबाइल नहुँदा कति धेरै फोन नम्बर याद हुन्थ्यो, अहिले एक–दुई जना बाहेक कसैको थाहा हुँदैन। सामान्य लाग्ने यस्ता दृष्टान्तले मोबाइलमै पूरै भर पर्दा हाम्रो स्मरणशक्ति कमजोर हुँदै गएको सङ्केत गर्छन्।
मानिसहरू आफ्नो काममा भन्दा ज्यादा मोबाइलमा झुम्मिने र ससाना बालबालिका स्मार्टफोनसँगै बिउँझिने/निदाउने गर्न थालेका छन्। स्मार्टफोन अगाडि नभए खाना समेत नखाने अवस्था छ। यस्तो व्यवहारले बालबालिकाको समग्र व्यक्तित्व विकासमा असर गरिरहेको छ। बालबालिकालाई स्मार्टफोन दिएर सिर्जनशीलता मारिरहेका छौं भन्ने ज्ञान अभिभावकलाई छैन।
दिनरात मोबाइलमा पब्जी खेलेर विद्यालय तथा काममा नजाने समस्या भएका बिरामी हामीकहाँ आएका छन्। धेरै अभिभावकले सन्तानको ‘गेमिङ’ लत छुटाइदिन आग्रह गर्ने गरेका छन्। इन्टरनेटमा पोर्नोग्राफी मात्र हेरेर बस्ने तर बिहेप्रति चासो नदेखाउने युवाका अभिभावक पनि परामर्शका लागि आएका छन्।
कतिपय व्यक्ति पहिल्यै मानसिक रोगी रहेका र त्यसकै कारण उनीहरू इन्टरनेटमा झुम्मिने गरेको पनि पाइयो। केही युवामा अरू कुनै समस्या नभए पनि इन्टरनेटमा झुन्डिरहने लत हुन्छ। त्यसैले इन्टरनेटका कारण एन्जाइटी र मानसिक समस्या हुन्छ नै भन्ने ठोकुवा पनि गरिहाल्ने अवस्था छैन। यसका लागि पहिले विभिन्न पाटोमा अध्ययन हुनुपर्छ। कसैको व्यवहार फेरिनु, समाजमा घुलमिल नहुनु र मोबाइलमै झुम्मिराख्नुमा उसको समग्र मानसिक स्वास्थ्यको भूमिका हुन पनि सक्छ।
विकसित देशमा इन्टरनेट र त्यसको प्रभावबारे अनुसन्धान गरी त्यसैका आधारमा नीति बनाइएका छन्। तर, हाम्रोमा अहिलेसम्म कुनै अध्ययन भएको छैन। अस्पताल ल्याइएका केसका प्रकृति र प्रवृत्ति हेर्दा इन्टरनेट प्रयोगमा नियम बनाउन ढिलो भइसकेको छ।
एउटै टेबुलमा रहेका मानिसले एकअर्कालाई नहेरी केवल मोबाइलमा घोत्लिएर बोल्नु स्वाभाविक होइन। तर, हाम्रोमा यस्ता व्यवहारलाई सामान्य ढङ्गले हेरिन्छ। जसरी सवारी साधन चलाउने नियम छ, त्यसै गरी सामाजिक सञ्जाल चलाउने मापदण्ड बनाइनुपर्छ। विद्यालय तहदेखि नै बालबालिकालाई इन्टरनेटको सही प्रयोगबारे पढाउन ढिलाइ भइसकेको छ।
(पाटन अस्पतालका निर्देशक शाक्य मनोचिकित्सक हुन्।)