अब गठबन्धन ठीक कि बेठीक भनेर बहस नगरौं: निधि
नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले अब गठबन्धन ठीक कि बेठीक भनेर बहस गर्न नहुने बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आइतबार नेपाल ट्रेड युनियन कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले गठबन्धनको बहसमा नअल्झिई चुनावमा लाग्नुपर्ने बताए।
“चुनावको मुखमा गठबन्धन गर्नु ठीक कि बेठीक भनेर बहस गर्नुको कुनै औचित्य छैन,” निधिले कार्यकर्तालाई भने, “मतदाताका घर घर गएर रूख चिह्नमा भोट मागेर कांग्रेसलाई विजयी गराउनतिर लागौं।”
कांग्रेसका पूर्व उपसभापति निधिले विराटनगरमा जित सुनिश्चित रहेको दाबी गरे। विराटनगरमा प्रजातन्त्रवादीको विकल्प नभएको उनको भनाइ थियो।
त्यस्तै, कांग्रेस नेता डा. शेखर कोइरालाले विराटनगरमा जित हात पारेपछि हरेक वडामा श्रम डेस्क स्थापना गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यहरू महेश आचार्य, अमृत अर्याल, डिला संग्रौला, भीम पराजुली, मेयरका उम्मेदवार नागेश कोइराला सहभागी थिए।