बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन‚ फिर्ता नलिए निष्कासन गर्ने चेतावनी
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको छ। मनोनयन फिर्ता नलिए स्वतः पार्टीबाट निष्कासन हुने चेतावनी दिएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिएको भए शुक्रबार ५ बजेसम्म फिर्ता लिन निर्देशन दिएका छन्। मनोनयन फिर्ता नलिए उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासन हुने जनाएका छन्।
विज्ञप्तिमा उल्लेख छ‚ “तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ।”
निर्वाचन कार्यतालिका अनुसार‚ आज उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।