मेयरको टिकट नपाएपछि एकीकृत समाजवादीका जिल्ला अध्यक्षले छोडे पार्टी
स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरको टिकट नपाएपछि नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी छोडेका छन्।
उनले बुधबार पत्रकार सम्मेलन गरी पार्टी छोडेको घोषणा गरेका छन्। स्थानीय तहको भागबण्डा गर्न सत्ता गठबन्धन चुकेको उनको आरोप छ। पोखरेल आठ महीनाअघि समाजवादीको जिल्ला अध्यक्ष बनेका थिए।
उनले स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरको मेयरको दाबी गरेका थिए। लामो रस्साकस्सीपछि एकीकृत समाजवादीले जिल्ला उपाध्यक्ष मिनाकुमारी लामालाई मेयरको टिकट दिएको थियो। उनी हेटौंडाका निवर्तमान उपमेयर पनि हुन्।
नेकपा (एमाले) छँदा पोखरेल अध्यक्ष केपी शर्मा ओली पक्षका नेता थिए। पूर्व मुख्य मन्त्री डोरमणि पौडेलसँग असन्तुष्ट भएपछि समाजवादी रोजेका थिए।
उनीसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसी, देवेन्द्र कोइराला, उत्तम न्यौपाने, गोपालबहादुर स्याङ्तानले पनि पार्टी छोडेको घोषणा गरेका छन्।