एक लाख ४१ हजारभन्दा बढीले दिए उम्मेदवारी
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४१ हजार ४६८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगले मंगलबार बिहान विवरण अद्यावधिक गरेको हो। विवरण अनुसार‚ प्रमुखमा तीन हजार ३१८‚ उपप्रमुखमा दुई हजार ३६‚ अध्यक्षमा तीन हजार ३०६ र उपाध्यक्षमा दुई हजार ३४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै‚ वडाध्यक्षमा ३३ हजार १११‚ महिला सदस्यमा २४ हजार २८३‚ दलित महिला सदस्यमा २१ हजार ९७९ र वडा सदस्यमा ५१ हजार ९२ जनाले उम्मेदवारी दिएका छन्।
प्रदेशगत रूपमा सबैभन्दा बढी मधेशमा ३६ हजार २७५ र सबैभन्दा कम सदूरपश्चिममा ११ हजार ७६२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।
यस्तै‚ प्रदेश १ मा २२ हजार १९४‚ बागमतीमा २३ हजार ६५४ र गण्डकीमा १२ हजार ३१४‚ लुम्बिनीमा २२ हजार ४२१ र कर्णालीमा १२ हजार ८४८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारको विरोधमा वैशाख १३ गते उजुरी दिन सकिने कार्यतालिका छ। वैशाख १४ र १५ गते उजुरीमाथि जाँचबुझ गरिने र १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। चुनावको मिति वैशाख ३० गते तोकिएको छ।