महानगरका उम्मेदवार छान्ने जिम्मा देउवालाई दिने कांग्रेसको निर्णय
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले महानगरका उम्मेदवार छनोट गर्ने जिम्मा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले महानगरका मेयर र उपमेयरका उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार सभापति देउवालाई दिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। सत्तारूढ गठबन्धनबीच भएको तालमेलको सहमति अनुसार, काठमाडौं, ललितपुर र विराटनगरमा मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरामा उपमेयरको उम्मेदवार कांग्रेसले उठाउनेछ।
त्यसका लागि प्रदेशबाट सिफारिश भएर आएका नाममध्येबाट सभापति देउवाले उम्मेदवार तोक्ने भएका छन्। कांग्रेस कार्यसम्पादन समितिको बैठकको निर्णयमा भनिएको छ, ‘विराटनगर, काठमाडौं र ललितपुर महानगरपालिकाको प्रमुख पदका आधिकारिक उम्मेदवार तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पदका आधिकारिक उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ५४ बमोजिम पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवालाई प्रत्यायोजन गर्ने गरी केन्द्रीय संसदीय समितिले गरेको निर्णयलाई विधानको धारा ३१ (२) बमोजिम अनुमोदन गर्ने।’
स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारी दर्ता गर्न थालिएको छ। सोमबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्रै उम्मेदवारी दर्ताको समय तोकिएको छ।
यससँगै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय संसदीय समिति पनि गठन गर्ने निर्णय गरेको छ। जसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी पदेन सदस्य हुनेछन्।
त्यस्तै, आजको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि केन्द्रीय संसदीय समितिको सदस्यमा मनोनयन गरेको छ।