कांग्रेस घोषणापत्र: गठबन्धनमा रहेका दलकै आलोचना
आसन्न स्थानीय निर्वाचन लक्षित गरी सत्तारूढ दल नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले महत्त्वपूर्ण पाँच वर्षको अवसर खेर फालेको तथा कुशासन र भ्रष्टाचारलाई बढावा दिएको औंल्याइएको छ।
कांग्रेसले घोषणापत्रमा तत्कालीन नेकपाको सरकारले अधिनायकवाद र सर्वसत्तावादको सूत्रपात गरेको, कुशासन र भ्रष्टाचार व्याप्त पारेको, प्रतिनिधि सभा विघटन मार्फत लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने प्रयत्न गरेको, विकासको भ्रामक र उत्ताउलो प्रचार गरेको जस्ता आरोप लगाएको छ। यसमा मूल रूपमा अहिलेको एमाले दल र नेतृत्वलाई आलोचना गरिएको छ।
कांग्रेसको घोषणापत्रमा एमालेले संसदीय लोकतन्त्र र संसदको चीरहरण गर्दै गैरलोकतान्त्रिक अभ्यास जारी राखेको आरोप लगाइएको छ। कांग्रेसले देशका अनेकौं विकृति-विसङ्गतिको जड नेकपा सरकार भएको औंल्याएको छ।
त्यसको प्रमुख जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने भए पनि गठबन्धमा रहेका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले पनि आंशिक जिम्मेवारी लिनुपर्ने कांग्रेसको ठहर छ।
“नेकपा र नेकपाको सरकारको कारणले सिर्जना भएका अनेकौं तमाम विकृति–विसङ्गतिप्रति मूलतः तत्कालीन प्रधानमन्त्री ओली प्रमुख रूपमा जिम्मेवार भए पनि तत्कालीन सन्दर्भमा नेकपा (माओवादी केन्द्र) र नकेपा (एकीकृत समाजवादी) पनि आंशिक रूपमा जिम्मेवार भएको तथ्य पनि बिर्सन मिल्दैन,” घोषणापत्रमा भनिएको छ।