सिन्धुलीमा कांग्रेस र माओवादीले तालमेल गरेपछि गठबन्धनमा विवाद
स्थानीय तहको निर्वाचनका लागि सिन्धुलीमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले तालमेल गरेपछि पाँच दलीय गठबन्धनभित्र विवाद उत्पन्न भएको छ।
गठबन्धनमा रहेका अन्य तीन दलले संयुक्त प्रेस विज्ञप्ति जारी गरी कांग्रेस र माओवादीलाई सीट बाँडफाँडको निर्णय सच्याउन माग गरेका छन्। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष सूर्य पाख्रिन, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष सुरदबहादुर स्याङतान र राष्ट्रिय जनमोर्चाका सचिव हिरा श्रेष्ठले जारी गरेको विज्ञप्तिमा दुई दलीय निर्णय सच्याउन माग गरिएको छ।
‘गठबन्धनभित्र छलफल नै नगरी निर्णय नै नभएको विषयलाई नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको बाँडफाँड समेत गरेको निर्णय सारमा गठबन्धन विरोधी कदम भएको हाम्रो ठहर छ,’ तीन दलले भनेका छन्, ‘यदि सो निर्णय खारेज गरी सहमतिको प्रयास नभएमा गठबन्धन तोड्न हामी बाध्य हुने यो वक्तव्य मार्फत सम्बन्धित सबैमा जानकारी गराउँदछौं।’