गठबन्धनको बैठक निष्कर्षविहीन, साँझ फेरि बस्ने
महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा मिलाउन बसेको सत्तारूढ गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गिएको छ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो। बैठकमा महानगर र उपमहानगरको मेयर तथा उपमेयरको भागबण्डाका विषयमा छलफल भएको थियो।
बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिले भागबण्डाको प्रारम्भिक खाका प्रस्तुत गरेको थियो।
६ वटा महानगरमध्ये तीन वटा कांग्रेसलाई र अन्य तीन वटामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई नेतृत्व दिने प्रस्ताव गरिएको थियो। कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर, माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जसपालाई वीरगञ्जको नेतृत्व दिने विषयमा छलफल चलेको थियो।
यसै गरी ११ उपमहानगरमध्ये धरान, जनकपुर, बुटवल, घोराही, तुलसीपुर र नेपालगञ्जमा कांग्रेसले नेतृत्व मागेको थियो। इटहरी र हेटौंडा उपमहानगरको नेतृत्व एकीकृत समाजवादी, जितपुर सिमरामा एकीकृत समाजवादी र कलैयामा जसपालाई दिन प्रस्ताव गरिएको थियो। धनगढी उपमहानगरको मेयरमा भने कांग्रेस र समाजवादीले दाबी गरेका थिए।
झण्डै तीन घण्टा चलेको बैठकमा भागबण्डाको विषयमा एकमत भने हुन सकेन। माओवादी र एकीकृत समाजवादीले धेरै सीटमा दाबी गरेपछि सहमति जुट्न नसकेको जनाइएकाे छ। आज साँझ फेरि बैठक बस्ने भएको छ।