धेरै साथीहरू तालमेलको पक्षमा छैनन्, हारे हारौंला: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहका नेता तथा कार्यकर्ता तालमेलको पक्षमा नरहेको जनाउँदै एक्लै लड्नुपर्नेमा जोड दिएका छन्।
सोमबार काठमाडौं-४ मा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले देशभरका अधिकांश नेता तथा कार्यकर्ता तालमेलको पक्षमा नरहेको जिकिर गरे। “देशका ५० भन्दा बढी जिल्लाका साथीहरू तालमेलको पक्षमा छैनन्। मतदातादेखि नेतासम्म विरोधमा छन्,” थापाले भने, “विचार प्रमुख भन्ने कुरामा उनीहरू अडिग छन् । जबर्जस्ती लाद्ने हो भने सोचेभन्दा मतदाताले फरक व्यवहार गर्न सक्छन्।”
राजनीतिमा विचार प्रमुख कुरा हुने उनको भनाइ थियो। “निर्वाचनमा हार्नुपरे हारौंला, केही छैन। राजनीति भनेको विचारसँग जोडिएको हुन्छ,” थापाले भने। उनले सोही अनुसार तयारी गर्न काठमाडौं–४ का नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
चुनावअघि तालमेल स्वाभाविक नहुने उनको भनाइ थियो। “निर्वाचन पछाडि आफ्नो बहुमत नपुगेमा कोहीसँग मिलेर सरकार चलाउने भन्ने कुरा संसदीय व्यवस्थामा स्वाभाविक हुन्छ,” महामन्त्री थापाले भने, “तर, निर्वाचनभन्दा पहिले तालमेल गरेर जित्नका लागि जाने भन्ने कुरा चाहिं हाम्रा लागि स्वाभाविक होइन।”
स्थानीय नेता तथा कार्यकर्ताको भावना विपरीत केन्द्रबाट निर्णय लाद्ने पक्षमा नरहेको उनको भनाइ थियो। केन्द्रले गरेको निर्णय मान्नैपर्छ भन्ने नहुनेमा थापाको जोड थियो।