'गठबन्धन गर्ने नै हो भने भरतपुरका माओवादीहरू रूखमा भोट हाल्न तयार हुनैपर्छ'
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन गर्ने हो भने यस पटक भरतपुरका नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताहरू रूख चिह्नमा भोट हाल्न तयार हुनुपर्ने बताएका छन्।
"कमरेड प्रचण्डले भनिरहनुभएको छ, उहाँले चाहेको उम्मेदवार अर्थात् उहाँकी छोरी उम्मेदवार हुनुहुन्थ्यो आज पनि छोरी उम्मेदवारलाई कांग्रेसले समर्थन गर्नुपर्छ, पार्टीको उच्च नेतृत्व तहमा दबाब पनि उहाँले दिइरहनुभएको छ। प्रचण्डलाई म सम्मान गर्न चाहन्छु तर पार्टी महामन्त्रीको नाताले यो पनि भन्न चाहन्छु- तालमेल हुँदै गर्दा एउटै दलले मात्रै सधैं छोड्ने भन्ने हुँदैन, स्थानीय स्थिति र आवश्यकताको आधारमा तालमेल गर्ने भन्नुको अर्थ के हुन्छ भने पार्टीको उच्च नेतृत्व तहमा उहाँले दबाब पनि दिइरहनुभएकै छ," शनिबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले भने, "पोहोर पनि हामीले माओवादीलाई भोट हाल्यौं, यस पटक पनि माओवादीलाई नै भोट हाल्ने हो भने हाम्रो विवेक, हाम्रो संगठनको के अर्थ हुन्छ भनेर प्रश्न उठाइराखेका साथीहरूलाई कुल्चेर माओवादीलाई साथ दिने भन्ने हुँदैन।"
गठबन्धन गर्ने नै हो भने यस पटक भरतपुर महानगरका माओवादीहरू यस पटक रूखमा भोट हाल्न तयार हुनुपर्ने शर्माको भनाइ छ। उनले बैठकमा भने, "माओवादी साथीहरू रूखमा भोट हाल्न तयार हुनैपर्छ।"