एउटा पार्टी असफल भए, अर्को आउँछ, राजा आउँदैन: कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अब राजा फर्कने सम्भावना सकिएको बताएका छन्।
नयाँ वर्षका अवसरमा राप्रपाका नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै थापाले राजाबारे आफ्नो धारणा राखेका हुन्। “राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरूसँग मेरो गुनासो, वैमनस्यता छैन। तपाईंहरुको धैर्यता रहुञ्जेल राजा बोक्नोस्, मेरो शुभकामना छ,” राप्रपाका पूर्व अध्यक्ष समेत रहेका थापाले भने, “विभिन्न कारणवश मैले राजाको अजेन्डा छोडेँ। तितो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो।”
उनले एउटा राजनीतिक दल असफल हुँदैमा राजा फर्कन नसक्ने बताएका छन्। “पार्टीहरू असफल भएर राजा आउने होइन। एउटा पार्टी असफल भए अर्को आउँछ,” राजतन्त्रको नारा छोडेका थापाले भने, “राजा फर्कने अरू नै कारण थिए। राजाले नै त्यो बाटो बन्द गरिदिए। अब असंभव अजेन्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन।”
राजतन्त्रको अजेन्डा बोक्दा हिन्दूराष्ट्रको अजेन्डा समेत ओझेलमा पर्ने उनको भनाइ छ। “असंभव अजेन्डा बोकेर हिन्दूराष्ट्रलाई बन्धक बनाउन हुँदैन। २-३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन,” उनले भने।
राजसंस्थाप्रति भने आफ्नो सम्मान रहने उनको भनाइ छ। थापाले भनेका छन्, “राजाको माया त लाग्छ, त्यसैले राजसंस्थाप्रति मेरो सम्मान सदैव रहिरहनेछ।”
थापा नेतृत्वका राप्रपा नेपालले स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल गर्ने सहमति गरिसकेको छ। यससँगै राप्रपा नेपालका उम्मेदवार सूर्य चिह्न लिएर चुनाव लड्ने पनि सहमति भइसकेको छ।